काठमाडौं,२४ कार्तिक । राजनीति पैसा कमाउने पेशा नभई सामाजिक सेवा भएको कुरा सांसद नारायण प्रसाद मरासिनीले बताउनु भएको छ । स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मरासिनीले राजनीति गर्ने मान्छे पवित्र हुनु पर्नेमा जोड दिँदै राजनीतिलाई कमाउने भाँडो बनाउन नहुने कुरा मिथिला बहसमा बताउनु भएको छ ।
सबै नीतिहरुको मुल नीति राजनीति भएकोले सामाजिक सेवा मार्फत राजनीतिमा सही बाटो ल्याउनकालागि आँफु राजनीतिमा लागेको उल्लेख गर्दै सांसद मरासिनीले राजनीति गर्ने व्यक्ति पवित्र र जनताप्रति समर्पित हुनु पर्ने दाबी गर्नु भयो । सांसद मरासिनीले सामुदायिक विद्यालयहरुलाई शसक्त बनाए मात्रै देश विकास हुने दाबी गर्दै १ खर्ब ६३ अर्ब रुपैया शिक्षा क्षेत्रमा छुट्टाइएको बताउनु भयो । सरकारी कुर्सीमा बसेका सबैलाई विदेश उपचार गर्न जान प्रतिबन्ध लगाइएको ठोकुवा गर्दै सांसद मरासिनीले प्रधानमन्त्री देखि सार्वजनिक पद धारण गर्ने सबैले आफ्नै खर्चले उपचार गराएको स्पष्ट पार्नु भयो ।
स्वदेसमै रोजगारीको अवसर सृजना गरेर युवायुवतीहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने धारणा व्यक्त गर्दै नेपाली संस्कृतिको विकास गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने बताउनु भयो । मरासिनीले आँफुले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिन तयार रहेको बताउँदै भ्रष्टाचार निर्मुल पार्न सबैको सहयोग आवश्यक भएको दाबी गर्नु भयो ।
आफ्नो निर्वाचन क्षेत्रमा विकासका कार्यक्रमहरु अगाडि बढेको जानकारी दिँदै मरासिनीले कार्कीनेटा,चिलाउनेवास,ज्याग्दी खोला खड्गेटारी,घण्टे देउराली,वाङसिङ,पञ्चासे,दोविल्ला,दुलेगौंडा लगायतका सडक निर्माण कार्यको लागि बजेट विनीयोजन भएको जानकारी दिनु भयो ।

English
MTV NEPAL MTVNEPAL


