
प्रेमचन्द्र झा
काठमाडौं । बलात्कार प्रयासका आरोपी निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार साँझ पक्राउ गरिएको छ । पीडित भनिएकी महिलाले शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई सभामुख निवासबाटै पक्राउ गरेको हो ।
महरालाई पक्राउ गर्न खटिएका सादा पोसाकका प्रहरीले उनलाई बालुवाटारस्थित सभामुख निवासबाट रातो रंगको बा१८ च ४०० नम्बरको कारमा राखेर लगेका छन् । प्रहरी भ्यानमा जान अनिच्छुक भएपछि प्रहरीले महराले नै प्रयोग गर्ने गाडीमा उनलाई लगेका छन् ।
महरालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । बलात्कारका आरोपी महरा पक्राउ परेपछि प्रहरीले विधिवत् अनुसन्धान थाल्ने जनाएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गर्ने अनुमति आइतबार बिहान दिएको थियो । अदालतको अनुमतिलगत्तै सभामुख निवास आसपासमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।
महरामाथि असोज १२ को साँझ संसद् सचिवालयकी एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । आफ्नो कोठामा आएर रक्सी सेवन गरेका महराले बलात्कार प्रयास गरेको ती महिलाले प्रहरी र राजनीतिकर्मीहरूसँग जनाएकी थिइन् । बलात्कार प्रयासक्रममा महराले कुटपिटसमेत गरेको दाबी ती महिलाको थियो ।
तर, घटना सार्वजनिक भएपछि पटकपटक बयान फेर्दै आएकी महिलाले अन्ततः शुक्रबार प्रहरीसमक्ष बलात्कार प्रयास भएको किटानी जाहेरी दिएकी थिइन् ।
महिलाको किटानी जाहेरीअघि नै नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामा स्वीकृत भइसकेको छ ।
तस्बिर सौजन्य : न्युज टवेन्टी फोर आवर्स डटकम

English
MTV NEPAL MTVNEPAL


