१ पौष । नेपालमा भर्खर सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको चुनावपछि बेलायत नेपालमा लगानी गर्न चाहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित व्यापार तथा लगानी सम्बन्धि एक सेमिनार मा भएको छलफलमा नेपालमा अब लगानी भित्राउनुपर्नेमा जोड दिएका छन् । नेपालमा अब स्थाई सरकार बन्ने र लगानीको उपयुक्त वातावरण हुने भएकोले नेपालमा लगानी गर्नुपर्नेमा बेलायतमा बसिरहेका नेपालीले पनि बताएका छन् ।
नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स ९बिएनसीसी० को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले वैदेशिक लगानीलाई सधैं स्वागत गर्ने बताए । उनले हालै सम्पन्न भएका निर्वाचन र राजनीतिक विकासक्रमबारे जानकारी दिंदै देश अब आर्थिक तथा सामाजिक रुपान्तरणमा उन्मुख भएको बताए । नेपालले केही वर्ष यता द्वन्द्व, राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति लगायत संक्रमणकाल खेप्नु परेपनि अब आर्थिक समृद्धि प्राथमिकतामा राखेको जनाए ।
कार्यक्रममा बेलायतको विदेश मन्त्रालय ९फरेन एण्ड कमनवेल्थ अफिस० की नेपाल डेक्स अफिसर जेनिफर नेल्सनले निर्वाचनपछि आर्थिक विकासमा नेपालले फड्को मार्ने विश्वास व्यक्त गरिन् । उनले ओएनएस पिङक बुकको आंकडा प्रस्तुत गर्दै सन् २०१६ मा नेपाल र बेलायतबीच आयात तथा निर्यातमा १९६ मिलियन पाउण्डको व्यापार भएको जनाइन् । नेपाली वस्तु निर्यातका लागि बेलायत चौंथो स्थानमा छ । नेपालमा विदेशी लगानीकर्ताहरुमध्ये ब्रिटेनको स्थान छैटौं छ। सबैभन्दा बढी चीन र त्यसपछि भारतको स्थान छ । नेपालको पहिलो जलविद्युत फर्पिङमा ब्रिटिश सहायताबाट आजभन्दा १०६ वर्ष अघि बनाइएको थियो ।
बिएनसीसी अध्यक्ष राजन कँडेलले नेपालमा चुनावपछि राजनीतिक स्थिरताको संकेतबीच बेलायतबाट नेपालमा लगानी आकर्षित गर्न कार्यक्रम गरिएको प्रष्टयाए । कँडेलले नेपालमा वैदेशिक लगानीका कानुनी प्रक्रिया र अवरोध आदिबारे अवगत गराउँदै हाइड्रो, बैंकिङ, शिक्षा, पर्यटन, स्वास्थ्य, टेलिकम, होटल रेष्टुरेन्ट, उत्पादनमुखी क्षेत्र आदिमा लगानीको सम्भावना रहेको जानकारी दिए । कंडेलले नेपालमा ८१ देशका २९५९ प्रोजेक्ट सञ्चालन भएको बताउँदै युनिलिभर, एनसेल, स्ट्याण्डर्ड चार्टर्ड बैंक आदि वैदेशिक लगानीमा सञ्चालित बहु राष्ट्रिय कम्पनीहरुको सफलताको उदाहरण प्रस्तुत गरे । उनले आगामी मार्चमा बिएनसीसी टिम नेपालमा विजनेश डेलिगेशन जाने तयारी गरिरहेको पनि जानकारी दिए ।
कार्यक्रममा कयौं बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी थिए । सो अवसरमा लन्डन गोर्खा स्कुलका डा। मार्टिन राइट, बिजनेश ग्रोथ इन्टरनेशनलका संस्थापक डेरी लेवेलिन डेभिज, बिएनसीसी अनरेरी चिफ एक्जुकेटिभ रिचार्ड पेली, कन्जरभेटिभ पार्टी लन्डनका पूर्व उपाध्यक्ष किसन देबानी, बिएनसीसी उपाध्यक्ष एलान सांका लगायतले आ आफ्ना धारणा राखे । ति वक्ताहरुले नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गर्दै विभिन्न सुझाव एवं जिज्ञासा राखेका थिए ।

English
MTV NEPAL MTVNEPAL


