बरु केहि शुल्क थप…तर सरकारी अस्पतालका डाक्टर/कर्मचारीलाई सभ्यता सिकाउ सरकार…

नियमित चेकजाँचकै क्रममा केहिदिनअघि म थापाथलि स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल पुंगे । संधै झैं उक्त दिन पनि त्यहाँ बिरामीको अत्याधिक भिंड थियो । स्त्री रोग अझं विशेषगरि प्रसुतीकै लागी खोलिएको अस्पताल भएकाले पनि होला… त्यो पनि सरकारी… त्यसैले सुरक्षित तथा सहज प्रसुती सेवा पाईन्छ कि भनेर भनेर गर्भावस्थाको पहिलो चरणदेखि नै महिलाहरुको आफ्नो स्वास्थ्य जाँचको लागि यहि अस्पताललाई रोज्ने गर्छन् । अहिले प्रायः जसो निजि अस्पतालहरुको असुल्ने चर्को सेवा शुल्क त्यसैमाथि गर्भावस्थाका समयमा गरिने ईमोस्नल व्यपारका कारण त्रसित भएर पनि होला थापाथलीमा गर्भवति महिलाहरुको भिंड दिनँहु जसो हुने गर्दछ । विशेषगरी डेलिभरिको समयमा निजि अस्पतालले गर्भवति महिलालाई नर्मल डेलिभरि एकदमै कम गराउने,गर्भवति महिला तथा पेटमा भएको बच्चाको स्वास्थ्यको बिभिन्न बहाना बनाएर अपरेसन नै गराएर बच्चा जमान्उनुपर्ने बाध्यात्मक परिस्थितिको सृजना गराउने देखिएकाले अहिले बरु …अरु नियमित चेकजाँचका लागि अन्य सरकारी अथवा प्राईभेट जुनसुकै अस्पताल गएपनि डेभिरिको समयमा थापाथलिस्थित प्रसुती अस्पतालनै पु¥याउने गरेको पाईन्छ ।

स्वयंम मैंले पनि सोही कारण प्रसुती गृहलाई रोजेकी हुँ तर हरेक पटक जब म नियमित चेकजाँचका लागि त्यहाँ पुग्छु मेरो अपेक्षा निराशा र भयंकर डरमा बदलिन्छ । टिकट लिनको लागि लाईन,चेकजाँचको लाईन,रिपोर्ट लिनको लागि लाईन,रिर्पोट देखाउन लागि लाईन अझं औषधि खरिद गर्न जाँदा फार्मेसिमा समेत लाईन … जे गर्दा पनि लाईन…उफ.! औषधि बरु बाहिरै किनौंला… एउटा सामान्य चेकजाँच र डाक्टरलाई रिर्पोट मात्रै देखाएर जाउँन भने पनि एकदिन पुरा दिँदा समेत पालो आउने टुंगो हुँदैन ।

त्यसैमाथी त्यहाँ कार्यरत कर्मचारी ,कार्यालय सहयोगी, गार्ड सबैको बोली व्यवहार उस्तै …..गर्भावस्था जस्तो अत्यन्तै जटिल समयमा पनि भोकभोकै घण्टौं लाईन कुरेर बस्दा ती महिलाको स्वास्थ्यवस्था कस्तो हुन्छ होला ? त्यसैमाथी एउटा सामान्य जानकारीका लागि कुनै कर्मचारीलाई सोध्यो भने ती कर्मचारीले जानकारी त धेरै परको कुरा फेरी कहिल्यै कोही कर्मचारीलाई पनि केहि नसोधौं जस्तो पार्ने गरी बिरामीलाई हकारेर पठाउँछन् । सरकारी अस्पताल हो…त्यसैले त्यहाँ हरेक वर्गका बिरामी आउने गर्छन् । सुदुर,मध्यका दुर्गम जिल्ला देखि मनाङ,मुुस्ताङ जस्ता हिमाली जिल्ला, पुर्वी भेगका बिरामी हुन् या मधेसका या त उपत्यकाकै रैथाने सबै ठाउँका बिरामी त्यहाँ पुग्छन् , मास्टर डिग्रि गरेका हुन या जिन्दगीमा कहिल्यै विद्यालयको मुख हेर्नै नपाई जिवन कटाई रहेका हरेक स्तरका बिरामी त्यहाँ पुग्छन् । उच्च ,मध्यम,निम्न सबै आएस्तर भएका बिरामी त्यहाँ भेटिन्छन् अनि के सबैलाई सबै कुराको ज्ञान हुन्छ त ? सबैलाई सबै कुराको जानकारी हुन्छ त ?

डाक्टरहरुकोे बोलीको त झन् कुरा गरि साध्य छैन ….भनिन्छ डाक्टरको बोली, बिरामीलाई गर्नेे व्यवहार यस्तो हुनुपर्छ जस्ले बिरामीको आधा रोग त यतिकै निको होस् । डाक्टरकोमा बिरामी पुग्ने बित्तिकै बिरामीलाई राहत महशुस हुनुपर्ने तर प्रसुति गृहमा कार्यरत डाक्टरको बोली सुन्दा बिरामीलाई उल्टै मानसिक रोग थपिन्छ जस्तो लाग्छ । सरकारी अस्पतालमा डाक्टरले बिरामीलाई राम्रोसंग सामान्य सोधपुध समेत नगरि यतिदिन÷उतिदिनपछि आउनुहोला भनेर फर्काईदिन्छन् । गर्भावस्थाको यस्तो समययमा केही मनमा लागेको जिज्ञासा डाक्टरलाई सोधौं कि भन्यो …बिरामीले मनमा लागेको कुरा मनमै कुडाएर फर्किनु पर्छ । रिपोर्ट देखाउन गयो डाक्टरले रिर्पोट सररर.. स्क्यान ग¥या जस्तो गर्छन् .. एकपटक दोहो¥यार बिरामीलाई सोध्दैनन् बिरामीलाई अन्य केहि समस्या छ कि भनेर ?

अघिल्लो पटकको चेकजाँचका लागि जाँदा भिडियो एक्सरेको लाईनमा लागेकि एकजना बहिनिको पालो लगभग मसंग संगै थियो । मेरो पालो कतिबेला सकिएला र आफ्नो पालो आउला भनेर सोच्दै नजिकैको टुलमा बस्दै थिईन् । भिडियो एक्सरेका लागि जाँदा खाला पेट जानु पर्ने.. अनि पिसाब लाग्ने गरि पानी खानुपर्ने । तारन्तर पानी खाँदा उनले हल्का असहज महशुष गरिरहेकि थिईन् सायद…। घाँटी खसखस गरेर अफ्ठ्यारो मानी मानी सानो स्वरमा उहुम.. उहुम.. गर्न मात्रै के थालेकि थिईन् त्यहाँ खटिएकि डाक्टर चिच्याउन थालि हालिन् । उनि भन्दै थिईन् ‘ए बहिनि काँ खोकी राको बाहिर गईहाल ’ । एक डाक्टरले बिरामी प्रति गरेको त्यस्तो तुक्ष व्यवहारले मेरो मनै कुडियो । ति डाक्टरको त्यो रुखो बोली त्यतिमा रोकिएन उनि भन्दै थिईन् ‘ तिम्लाई के के रोग होला हामीलाई सर्दैन ..बाहिर गईहाल… ’म झस्किए.मलाई त्यति बेला कोरोना कालको याद आयो । अहिले त यस्तो व्यवहार गर्ने डाक्टरले कोरोना पिरियडमा बिरामीलाई कस्तो व्यवहार गरिन् होला ? मनमनै त्यतिबेलाको उनको व्यवहारको चित्र दिमागमा बनाए ..।

पछिल्लो पटकको फलोअपका क्रममा म भन्दा अघिल्तिरका एकजना ५ महिने गर्भवति दिदि निराश मुद्रामा आफ्नो पालो कुरिरहेकि थिईन् । मैंले सोधिहाले केहि समस्या छ हो दिदि ? केहि सहयोग गरौं ? पछि पो थाहा भयो..उनको दिमागमा अघिल्लो पटक आउँदा त्यहाँकि एकजना डाक्टरनीले भनेको कुराले दिमागमा नराम्ररी डेरा जमाएर बसेको रहेछ । घण्टौं कुर्दा कुर्दा बल्ल तल्ल उनको पालो आएको थियो रे । उनको कार्ड हातमा लिंदै ति डाक्टरनि बेस्सरी कड्किदै भन्दै थिईन रे …हैन कति आको हो बिरामी पनि दिमाग खराब…..ति दिदिले डाक्टर भएर कसरी त्यस्तो भन्न सक्नुभको भन्दा उनले झन् रिसाउँदै अरु के अस्पताल छैैनन् । यहि आउनुपर्छ भनिन् रे…..

के यहि हो एक डाक्टरले बिरामीलाई गर्ने व्यवहार ? हामीले जिउँदो भगवानको दर्जा दिने ति चिकित्सकको त्यस्तो तुक्ष्क्ष व्यवहारले ति बिरामीको दिमागमा कति गहिरो चोट प¥यो होला ? सोचौं त…? एउटा सरकारी चिकित्सक त्यो पनि महिला …गर्भावस्थाको समयमा उनले बिरामी माथि गरेको त्यो व्यवहारले उनि राम्रो चिकित्सक त परै जावस् एउटा असल मानव समेत हुन लायक छैनन् भन्ने बुझाउँछ । सरकारी तलब खाएर अस्पतालमा चेकजाँचका लागि आएकि एक बिरामीलाई यहाँ किन आको निजि अस्पताल के छैनन् जस्तो भन्दै गर्दा उनले नेपालका सरकारी अस्पतालको स्वास्थ्य सेवाकै खिल्लि उडाएकि छन् । सरकारी अस्पतालमा कार्यरत अन्य असल चिकित्सक माथि पनि दाग लगाएकि छन् ।

यो थापाथलि मात्रै होईन देशका अधिकांश सरकारी अस्पतालका प्रायःचिकित्सकको बोली व्यवहार उस्तै हुन्छ । अहिले सरकारी अस्पतालमा जाँदा बिरामीको रोग पत्ता लाग्दैन । त्यहाँका फार्मेसिको औषधिले सामान्य रुघाखोकी समेत समयमै निको हुदैंन ।

ग्रामीण भेगका जिल्लाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा डाक्टर हुँदैनन् , नियुक्ति भएका डाक्टर हाजिर लगाउन मात्र जान्छन् ,बसाई शहरमै गर्छन् या त दुर्गममा नियुक्ति भएको केहि दिनमै सुगममा शरुवा भईहाल्छन् । बिरामीले डाक्टर पाउँदैनन् ,स्वास्थ्य चौकीले बिरामी पाउँदैनन् । बल्ल तल्ल विभिन्न योजना पार्दै कयौं वर्ष लगायर गाउँमा स्वास्थ्य संस्था बनेपनि डाक्टर नपुग्दा स्वास्थ्य संस्थाका भवन यत्तिकै मख्खिएर जान्छन् भने बिरामीको सिटामोलको अभावमा ज्यान जान्छ । महिनौं हिडेर जिल्लाका सदरमुकाममै गएर उपचार गराउनुपर्ने बाध्यताले घेरिएका जनता अझैं पनि छन् । या त सदरमुकाम जानुप¥यो या त महँगो खर्चको जोहो गरेर राजधानी लगायतका ठुला शहरका अस्पतालमा आउनुप¥यो । यता शहरमा अवस्थित ठुलाठुला सरकारी अस्पतालमा बिरामी नै बिरामी तर अस्पतालमा कार्यरत डाक्टरलाई फेरि भलै सरकारी तलब खाएको होस् चिन्ता आफु कार्यरत प्राईभेट अस्पतालको बढी हुन्छ ।
एकातिर सरकार भन्छ नेपालमा आवश्यक चिकित्सकको अभाव भएकाले स्वास्थ्य सेवा प्रभावित भईरहेको छ , उता मेडिकल काउन्सिल भन्छ नेपालमा आवश्यक चिकित्सक जतिपनि रहेका छन् । अझं भनौं वर्षेनि थपिईरहेका छन् तर सरकारले समान वितरण गर्न सकेको छैन … अझैं अर्कोतिर देशमा श्रमको मुल्य छैन,उचित स्थान छैन भन्दै दक्ष स्वास्थ्यकर्मिहरु दिनँहु विदेश पलाएन भईरहेका छन् । आखिर गल्ति कस्को त ?

वर्षेनि सरकारले स्वास्थ्य क्षेत्रमा अर्बौ रकम विनियोजन गर्छ तर त्यो रकम जान्छ कहाँ ? सरकारी अस्पतालका भौतिक अवस्था हे¥यो भने सध्य मान्छे बिरामी हुन्छ । जता हे¥यो फोहोरै फहोरै …अस्पताल होकि फोहोर फ्याल्ने ठाउँ छुट्टाउनै गाह्रो , डाक्टरहरुलाई पनि तलब नपुगेर त होला सेवा दिन प्राईभेटमा कुद्छन् । बिरामी राम्रो उपचार पाउन महँगो नै रकम तिरेर निजि अस्पतालमै धाउनुपर्ने हो भने ..सरकारी अस्पतालमा बिरामीले औषधि नै नपाउने,डाक्टरले बिरामी हेर्दै नहेर्ने हो भने सबै सरकारी अस्पताल बन्द गर्दे सरकार ? होईन भने जनताको स्वास्थ्यको नाममा कति राजनिति गर्छौ । अरु केहि गर्न सक्दैनौ भने पनि बरु सेवा शुल्क थपेर भएपनि सरकारी अस्पतालका डाक्टर कर्मचारीलाई सभ्यता सिकाउ सरकार ? बिरामीसंग कसरी बोल्नु पर्छ ? कस्तो व्यवहार गर्नुपर्छ भनेर तालिम मात्रै भएपनि देउ सरकार ?

THIS IS ADD AREA
x

Check Also

सरकारी तलब खाएर प्राईभेटमा अस्पतालमा भेटिन्छन् डाक्टर,,बिरामीको हरिबिजोग…..

सुदुरका बैतडी ,बाजुराका कुरा छोडौं मध्यका जुम्ला,हुम्ला,डोल्पा कालिकोटका स्वास्थ्य संस्थाका कुरै नगरौं संघिय राजधानि काठमाडौंमै अवस्थित ठुला ठुला सरकारी अस्पतालको सेवा प्रवाह कति नाजुक छ ...

Social Media Auto Publish Powered By : XYZScripts.com