यस वर्ष नेपालमा आँपको उत्पादन बढेको छ । फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ । गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो । आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेकोछ । जात अनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ । सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ । उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्यो भन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौँ उपत्यकामा गइरहेको छ । विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ । बाँनियाले अनुसार पछिल्लो दशक होइन २०÷२५ वर्षकै तुलनामा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, । उनले मण्डीबाट रु ३० करोड बराबरको आँप बिक्री हुने अनुमान गरे । नेपालमा व्यापारीहरुले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन् । कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ । विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए ।।

English
MTV NEPAL MTVNEPAL


