पौडेल र पुन बिचमा सम्पर्क हुने गरेको तथ्य फेला पर्यो, पुनको धम्की कायमै

काठमाडौं । रुपन्देहीमा केहीदिन अघि हत्या गरिएका काठ व्यवसायी वसन्त पौडेल र हत्याको जिम्मेवारी लिएका मनोज पुनबीच व्यापारिक सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अघिल्लो साता रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली प्रहार गरी वसन्त पौडेलको हत्या गरेको थियो । त्यसलगत्तै विदेशमा रहेका भनिएका मनोज पुनले घटनाको जिम्मेवारी लिँदै केही सञ्चारकर्मीलाई टेलिफोनसमेत गरेका थिए ।

पौडेल हत्याको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार हत्याको जिम्मा लिएको भनिएका पुन र पौडेलबीच केही समयअघिसम्म व्यापारिक सम्बन्ध रहेको भेटिएको छ । अघिल्लो वर्ष हत्या गरिएका एमालेको युवा संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि फरार रहेका पुनसँग पौडेलको नियमित सम्पर्क रहेको अनुसन्धानबाट खुलेको छ ।

“तिवारी हत्यापछि पुन र पौडेलबीच नियमित कुरा भएको तथ्य फेला परेको छ,” अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारी भन्छन्, “उनीहरुबीच व्यापारिक सम्बन्ध रहेको पनि भेटिएको छ । धेरैपल्ट फोनमा कुराकानी भएको पाइएको छ । आफूसँग भएको कुराकानी र सम्बन्ध बाहिर आउन सक्ने आशंकापछि पुनले हत्या गरेको हुन सक्छ ।” अनुसन्धानमा संलग्न ती अधिकारीले पौडेलले नै प्रहरीलाई सूचना दिएको आशंकापछि उनीहरुबीच खटपट परेको पनि भेटिएको बताए ।

पुन पीडित उजुरी गर्न पनि डराउँछन् !

गुन्डा नाइके मनोज पुनले रुपन्देहीका कैयौं व्यवसायीलाई जबर्जस्ती धम्क्याउने गरेको पनि प्रहरी अनुसन्धानपछि मात्रै खुलेको छ । पुनका धम्कीका कारण व्यवसायीमा समेत त्रास पैदा भएको छ । यीमध्ये केहीले प्रहरीमा उजुरी गर्नसमेत डराएको पाइएको प्रहरीले जानकारी दियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा २० जना व्यापारीसँग पुनले रकम मागेको मौखिक उजुरी परेको छ ।  पुनले व्यापारीसँग ५ देखि २५ लाख रुपैयाँसम्म माग्ने गरेको प्रहरीमा परेको उजुरीबाट खुलेको छ ।  नाम सार्वजनिक नगर्ने सर्तमा रुपन्देहीका एक होटल व्यवसायीले भने, “मलाई यति पैसा चाहियो भन्दै फोन आउँछ, फोनमा घर परिवार, व्यापार व्यवसायसहित दिनभर को कहाँ रहन्छ भन्नेसम्म फोनबाटै धम्की दिने गरेको छ ।”

पुन गतवर्ष पुसमा युवासंघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि प्रहरीको खोजी सूचीमा छन् ।

त्यस्तै गत असोज २३ गते काठमाडौंको बानेश्वरमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा समेत संलग्न रहेको आरोप छ ।  “पुनको धम्कीका कारण पीडितहरु खुलेर प्रहरीमा उजुरी दिन पनि डराउने भेटिएको छ,” ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मधु पुडासैनीले भने, “हामीले गम्भीर ढंगले अनुसन्धान अघि बढाएका छौं । केही व्यापारीले हामीलाई मौखिक रुपमा उजुरी गरेका छन् ।”

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com