उपेन्द्र यादवको पार्टीमा तेजोबध हुँदै मधेसी

प्रेमचन्द्र झा, काठमाडौं, २७ कात्तिक : समाजवादी पार्टीमा मधेसवादको धार भुत्ते हुँदै गएको छ । पार्टीका केन्द्रीय स्तरका महत्वपूर्ण तथा निर्णायक मानिएका समितिहरूमा मधेसको प्रतिनिधित्वसमेत कमजोर भएपछि सिंगो पार्टीमा खसवादीहरू हावी भएको अनुभव गरिएको हो ।
अधिकारसँग जोडिएका मागलाई लिएर भएका विभिन्न विद्रोह तथा आन्दोलनका चरणबाट गुज्रिँदै स्थापना भएको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल संघीयता र समता पक्षधर शक्तिसँग एकीकृत हुन थालेपछि पार्टीको मूल राजनीतिक आधार मधेसवाद संकटमा परेको जानकारहरूको भनाइ छ ।
‘विगतमा पार्टीभित्र मधेसका अनुहार र आवाजलाई प्राथमिकता दिइन्थ्यो । हिजोआज बोली फेरिँदै गएको छ । फरक अनुहारको बाहुल्य देखिन्छ,’ समाजवादी पार्टीका मधेसी मूलका एक नेताले गुनासो गरे । बहुक्षेत्रीय अवधारणा व्यवहारमा उतारिँदै गएपछि पार्टीभित्र पुराना नेताकार्यकर्ताहरू उपेक्षित हुँदै गएको अनुभव अधिकांश मधेसी मूलका नेताको छ ।
समाजवादी पार्टीको १८ सदस्यीय अनुशासन समितिमा तीनजना मात्र मधेसी मूलका सदस्य छन् । यसैगरी १६ सदस्यीय केन्द्रीय लेखा समितिमा चारजना मात्र मधेसी छन् । त्यस्तै १८ सदस्यीय पार्टी केन्द्रीय निर्वाचन आयोगमा द्ईजना मात्र मधेसी नेता छन् ।
पार्टीको ४० सदस्यीय केन्द्रीय विज्ञ समितिमा नौजना मधेसी छन् । ९५ सदस्यीय केन्द्रीय सल्लाहकार समितिमा २५ जना मात्र मधेसी छन् ।
तथ्यांककै आधारमा पार्टीका यी समितिमा मधेसी अनुहार संख्यात्मक रूपमा कमजोर भएको छर्लङ छ । ‘यसले पार्टी जीवनमा महत्वपूर्ण निर्णय भइरहँदा पार्टीभित्रै मधेसी कलस्टरको आवाज कमजोर हुनेछ,’ अर्का एक नेताले भने, ‘पार्टीको आकार र प्रभाव बढाउने लोभमा पार्टीभित्रको मधेस मलिन हुँदै गएको छ ।’
मधेसको अधिकार प्राप्तिको लडाइँ नै जग भएको पार्टीमा मधेसीको सहभागिता ठोस रूपमा अगाडि नआए केन्द्रीय नेतृत्वमा रहेका अहिलेका मधेसी नेताको पकड समेत पार्टीभित्र कमजोर हुने आकलन गरिएको छ । कुनै बेला समानुपातिक समावेशी प्रतिनिधित्वलाई मूल राजनीतिक मागका रूपमा अघि सारेको पार्टी अहिले मधेसी सहभागिताको सन्दर्भमा अनुदार हुँदै गएकोमा मधेसी नेताहरूमा तीव्र असन्तुष्टि देखिएको छ ।
प्रतिनिधित्वलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी नेताहरूको गहिरो रोष बुधबारबाट राजधानीमा हुने केन्द्रीय परिषद् बैठकमा छचल्किने निश्चित छ । परिषद् बैठकमा सहभागी हुने कुल एक हजार नेताकार्यकर्तामा मधेसी मूलका करिब दुई सयजना अटाइने बताइन्छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com