रेशम चौधरीलाई जेलभित्रै सपथ गराउने तयारी

कैलाली २ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जेलभित्रै सपथ गराउने तयारी सरकारले गरेको छ । करिब साढे २ वर्षअघि भएको कैलाली घटनाको मुख्य आरोपी रहेका चौधरीलाई सपथ गराउनको लागि सरकारले राजपासँग छलफल सुरु गरेको छ ।  राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो।

शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ। कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए। प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई निर्वाचन आयोगले निर्वाचन जितेको प्रमाणपत्र अहिलेसम्म दिएको छैन।

निर्वाचनका बेला उनी ‘फरार अभियुक्त’ का रूपमा थिए। त्यसपछि चौधरीले ‘वारेस’ मार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराउन खोजे पनि अदालतले व्यक्ति स्वयं उपस्थित भए मुद्दा हेर्न सकिने नत्र अदालतले नहेर्ने भन्दै रिट दरपिटमार्फत खारेज गरिदिएको थियो। त्यसपछि भने चौधरीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ। उनको मुद्दा अदालतमा विचाराधीन छ। जिल्ला निर्वाचन आयोगले चौधरीको प्रमाणपत्र उनलाई र उनको वारेसलाई नदिई निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाएको थियो। आयोगले अहिले उनको प्रमाणपत्र संसद् सचिवालयमा सभामुखकहाँ पठाइदिएको छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com