जब सोल्टी होटलको आँगनैमा पूर्वराजा ज्ञानेन्द्र शाह भेटिए

नेपालगञ्‍जको चिसोमा पूर्वराजा ज्ञानेन्द्र शाह के गरेर दिन बिताउँदा रहेछन् भन्‍ने खुल्दुली लागिरहेको थियो। शनिबार बिहान पूर्वराजा शाह बसेको सोल्टी होटलमा पुगेँ। होटलमा त विभिन्न जिल्लाबाट आएका मान्छेहरुको भीड थियो। दुई लाइनमा हातमा फूल–माला, खादा लिएर मान्छेहरु उभिएका थिए। संयोगले आज पूर्वराजाले होटल प्रांगणमा सामूहिक दर्शनभेट दिने कार्यक्रम रहेछ।

साढे ११ बजे पूर्वराजा ज्ञानेन्द्र होटलभित्रबाट निस्किए। दाहिने लाइनबाट गुनासो, सुझाव सुन्न राजा अघि बढे। डोल्पाका चन्द्र शाहीले भने, ‘महाराज देशको बागडोर सम्हाल्न हजुर अघि आउनु पर्‍यो, त्यसका लागि हामी मर्न तयार छौं।’ पूर्वराजा मुस्कुराए। बाँकेका रामपति तिवारीको पालो आयो। उनले राजालाई हात जोड्दै भने, ‘सरकार नहुँदा हामी पानी बिनाको माछाजस्तै भएका छौं। अधिवक्ता रुद्रमणि न्यौपाने र किशोर लामाले राजसंस्थाप्रति आस्था राख्ने दल र नेताहरुलाई एकजुट गर्ने अगुवाइ सरकारले गर्नुपर्‍यो भने। दधिराम लामिछानेले ‘देश टुक्रिन थालिसक्यो, सरकार अगाडि आउनुपर्‍यो’ भने।

लाइनमा बसेका मान्छेले पूर्वराजाको जयजयकार गर्दै देश बचाउन अगाडि आउन उक्साए। पूर्वराजा भने सदाजसरी मुस्कुराउँदै टाउको हल्लाउँदै अगाडि बढिरहे। कुनै प्रतिक्रिया दिएनन्। पूर्वराजा पुस १३ गतेदेखि सोल्टी होटलमा बसिरहेका छन्।

यो बीचमा चार दिन (आइतबारदेखि बिहीबार) भारतको लखनऊ गएका थिए। उही दिन फर्किने गरी एक/एक दिन बर्दिया, धनगढी र दाङ गए। यत्तिका दिन नेपालगञ्जमा बस्दा पूर्वराजाले समर्थकहरुको जयजयकार सुनिरहेका पाइयो।

होटलमा पुगेर अरु बेला पनि यस्तै दर्शनभेट हुन्छ भनेर एकजना अगुवालाई सोधेँ। नाम बाहिर नल्याइदिने आग्रह गर्दै उनले थोरै–थोरै समूहमा यस्ता गुनासा/सुझाव सुन्ने काम भइरहेको जवाफ दिए। नेपालगञ्ज आएको शुरुवाती चरणमा पूर्वराजाले नेपालगञ्जका उद्योगी व्यापारीलाई भेटेका थिए।

कतै बाहिर निस्किने कार्यक्रम हुँदा केही समयअघि मात्रै सुरक्षा निकायलाई जानकारी दिने गरेका पूर्वराजाले होटलमा बसेर आफ्ना समर्थकहरुको भने मज्जाले गुनगान सुन्ने गरेका छन्। शनिबार सामूहिक दर्शनभेटका लागि बाँके, बर्दिया, दाङ, डोल्पा, कैलाली, कञ्चनपुरबाट समेत मानिसहरु आएका थिए। स्रोतका अनुसार, पूर्वराजपरिवार माघको पहिलो सातासम्म नेपालगञ्ज बस्ने कार्यक्रम छ। यो बीचमा अरु केही जिल्लामा जाने तयारी भइरहेको छ।

‘जुत्ता’ समाउँदा सुरक्षाकर्मी सजग
पुसको १८ गते हिमानी र २२ गते पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको दर्शन गरे। हिमानीले बागेश्वरी मन्दिरको जुँगे महादेवको दर्शन गर्न पस्दा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानले उनको चप्पललाई सुल्टोमुख बनाए। चप्पल खोल्दा पूर्वतिर फर्किएको थियो।फर्किदा पश्चिमतिर आउनु पर्ने भएकाले सशस्त्र प्रहरीले त्यही अनुसार चप्पललाई राखे। नजिकै क्यामेरा लिएर बसेका संवाददातालाई देखेपछि सशस्त्र प्रहरीका अधिकृतहरु अत्तालिए। ‘प्लीज चप्पल समातेको फोटो नछापिदिनु होला’ भन्न थाले।

२२ गते पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित बागेश्वरी मन्दिरको दर्शन गर्न आए। मन्दिरको मूलगर्भमा पूर्वराजा/रानीले चप्पल खोलेर भित्र पसे। यतिबेला भने सशस्त्र प्रहरीले अलि चनाखोपन देखायो। पूर्वराजा र रानीको चप्पललाई अलग गर्दै दुई/चार जनाले क्यामेराम्यानको आँखा छलेर पूर्वराजाको जुत्ता र रानीको चप्पललाई सुल्टोमुख बनाए।पूर्वराजपरिवारको सुरक्षा गर्न सशस्त्र प्रहरीलाई खटाइएको छ। सुरक्षाकर्मीले डराई–डराई पूर्वराजपरिवारका सदस्यको जुत्ता–चप्पल मिलाउने गरेको दृश्य देखेकाहरु आश्चर्यचकित भएका थिए।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com