२ पुुुस । बहुचर्चित चमेलिया जलविद्युत आयोजनाको आगामी पुस पहिलो साताबाट परीक्षण उत्पादन गरिने तयारी भएको छ । दार्चुलामा निर्माण सम्पन्न आयोजनाको बाँधको तल्लो सिभिल संरचनाको मर्मत सकिन लागेकाले पुस ८ गतेबाट परीक्षण उत्पादन गर्न लागिएको हो । यसअघि मंसिर दोस्रो साताबाट व्यापारिक उत्पादन सुरु गर्ने भनिए पनि बाँधको ढोका पूर्णरूपमा बन्द नहुँदा समस्या देखिएको थियो । २ दिनभित्र बाँधको गेटको मर्मत पूरा गरेर सुरुङमा पानी भरिने आयोजना प्रमुख अजयकुमार दाहालले बताए । उनका अनुसार सुरुङमा पानी भरिएपछि परीक्षण उत्पादन सुरु गरिने छ ।
परीक्षण उत्पादन पूरा गरेर एक महिनाभित्रमा व्यापारिक उत्पादन सुरु गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निर्माण थालेको ११ वर्षपछि चमेलियाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिन लागेको हो । आयोजनाको विद्युत जोडिने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन प्राधिकरणले चार्ज गरिसकेको छ । अहिले सिङ्गल सर्किटमा चार्ज गरिएको प्रसारण लाइनको डबल सर्किट निर्माण गर्न ठेकेदार छनोट भइ प्रक्रिया अघि बढाइएको दाहालले बताए । ठेकेदारसँगको असमझदारी ,सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्याका कारण आयोजना पूरा हुन ११ वर्ष लागेको थियो ।

Nepali
MTV NEPAL MTVNEPAL


