पार्टी एकता नै गर्ने भन्दै प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा होमिएका दुई दल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु चुनावी नतिजासँगै फरक फरक अभिव्यक्ति दिन थालेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको नतिजामा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेपछि सो पार्टीका अध्यक्ष केपी ओली र इश्वर पोखरेलले सरकार पार्टीमा गएपछि वाम एकता बारे प्रक्रिया सार्वजनिक गरिरहेका बेला सोही पार्टीका बरिष्ठ नेता माधव नेपालले भने सरकार गठन र एकतासँगै जनतालाई दिएका वाचा, विकास र समृद्धिको सपना पूरा गर्ने अभिभारा आएको बताए ।
शनिबार काठमाडौमा प्रदेश तथा प्रतिनिधसभा सदस्यमा निर्वाचित वाम गठबन्धनका उम्मेदवारको बधाई तथा चियापान समारोहमा बोल्दै उनले पार्टी एकतामा जोड दिए । कम्युनिस्ट आन्दोलन र वामपन्थी शक्तिलाई निर्णायक रूपमा उभ्याउनका लागि तत्काल पार्टी एकता आवश्यक रहेको नेता नेपालको भनाइ थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही भनाई दोहोर्याएका छन् । जनताले वाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले पार्टी एकीकरणको विकल्प नरहेको प्रचण्डले बताए । काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले वाम गठबन्धन जनताद्वारा अनुमोदित भएको स्पष्ट गरे एमालेको जितमा माओवादी र माओवादीको जितमा एमाले मिसिएको भन्दै उनले झन्डै दुई तिहाई जितले ऐतिहासिक मौका दिएको धारणा राखे ।

Nepali
MTV NEPAL MTVNEPAL


