समाजबादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधि सभाका तत्कालिन सभामुख कृष्ण बहादुर महरा र सभासदहरु अपराधमा मुछिनु दुर्भाग्य र लज्जासपद रहेका बताउनु भएको छ । मिथिला नेपाल टेलीभिजनको बहस कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाली राजनीतिमा अपराधीकरण र अपराधमा राजनीति भएको दाबी गर्नु भयो ।
दण्डहिनता बढ्नुमा राजनीतिक दलको ठूलो भुमिका रहेको बताउँदै श्रेष्ठले जो सुकै व्यक्ति भए पनि दोषीले सजाय पाउनु पर्ने बताउनु भयो । अपराध भनेको अपराध हो भन्दै सह–अध्यक्ष श्रेष्ठले दण्डहिनताको अन्त्य हुनु पर्ने जिकिर गर्नु भयो ।
केही समय पहिले तत्कालिन सभामुख कृष्ण बहादुर महरा रोसनी शाहीसँग यौन दुराचारको आरोपमा पक्राउ परेका थिए भने नेपाली काँग्रेसका सभासद मोहम्मद अफ्ताब आलम नागरिक हत्याको अभियोगमा पक्राउ परेका थिए ।
समाजबादी पार्टीका सह–अध्यक्ष श्रेष्ठले समाजवादी पार्टीको जनाधार मधेसबाट शुरु भएर हिमाल र पहाड सम्म पकड रहेको जानकारी दिनु भयो । वर्तमान नेकपाको सरकारमा बसेर सामेल हुनु स्वभाविक भएको बताउँदै श्रेष्ठले वर्तमान सरकारमा जानु अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु भयो ।
श्रेष्ठले नेपाल चिन र भारत जस्ता शक्ति राष्ट्रको बिचमा रहेकोले दुबै छिमेकीबाट फाइदा लिन सक्नु पर्ने उल्लेख गर्दै देश बिकासकोलागि परनिर्भरता र आत्म निर्भरता नभै अन्तर निर्भरता हुनु पर्नेमा जोड दिनु भयो । संसारका धेरै मुलुकमा पर क्यापिटा इन्कम १२ हजार अमेरिकी डलर रहेको तर नेपालीहरुको पर क्यापिटा इन्कम एक हजारमात्र रहेको बताउँदै विकासकोलागि जलश्रोत र प्राकृतिक श्रोतसाधनको सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । चिन र भारतसँगको ब्यापारमा नेपाल घाटामा रहेको उल्लेख गर्दै उहाँले २०५० सम्म चिन विश्वकै पहिलो शक्ति राष्ट्र हुने घोषणा गरेकोले २१ औं शताब्दी एसीया महादेशको रहेको दाबी गर्नु भयो । चिन पहिलो र भारत दोस्रो शक्ति राष्ट्र हुने हुँदा त्यसको फाइदा नेपालले उठाउन सक्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल सार्वभौम सम्पन्न मुलुक भएकाले नेपालको कानुन अनुसार नै अपराधीलाई दण्ड सजाय दिनु पर्ने उल्लेख गर्दै चिन सँग सुपुर्दगी सन्धिको खाका कोर्न लागेको जानकारी दिनु भयो । नेपाल एक चिनको नितीमा प्रष्ट रहेको उल्लेख गर्दै शान्तिपुर्ण सह–अस्तित्वलाई स्वीकार्दै पञ्चशिलको सिद्दान्तमा नेपाल अडिग रहनु पर्ने बताउनु भयो । सबै कुरामा विदेशीको मुख ताक्न नहुने उल्लेख गर्नु भयो । तत्कालिन एमालेको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका श्रेष्ठले पछिल्लो समय समाजवादी पार्टी रोझेका छन् ।

Nepali
MTV NEPAL MTVNEPAL


