पश्चिमी नाकाबाट भित्रिने पर्यटक बढे

पश्चिमी नाका गड्डाचौकीबाट केही वर्षयता पर्यटक भित्रिने क्रम बढदै गएको छ । बाटोको सुविधा, भारतीय वनबासा पुल खुल्ने समय बढेको र नेपालबाट सोझै दिल्लीसम्म बस सेवा सुरु भएपछि यहाँको नाकाबाट पर्यटक भित्रिने क्रम बढदै गएको हो । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार २०१३ मा १ हजार ७ सय ३९, २०१४ मा १ हजार ८ सय ३ र गत वर्ष २ हजार ६० पर्यटक भित्रिएका छन् ।

वरिष्ठ अध्यागमन सहायक माधवप्रसाद जोशीले २०१६ को जुलाईसम्म डेढ हजारभन्दा बढी पर्यटक भित्रिएको बताए । ‘तीन/चार वर्षयता पर्यटक आउने क्रम बिस्तारै बढेको छ,’ उनले भने, ‘तर, सोचेअनुसार अझै पर्यटक भित्र्याउन सकिएको छैन ।’ पछिल्ला ३ वर्षयता वार्षिक २ हजार हाराहारीमा पर्यटकहरू भित्रिएका छन् । विगत ५ वर्षअघिसम्म यो नाकाबाट बर्सेनि १ हजारभन्दा कम पर्यटक आउने गरेको उनले बताए ।

भारतीय सीमावर्ती बजार वनबसादेखि महेन्द्रनगरसम्म यातायातको असुविधा र त्यहाँको पुल खुल्ने समय अवधि कम भएकाले पर्यटकहरू सहजै आउँदैनथे । गत वर्षको नेपाल–भारत पारवहन सम्झौतापछि नेपालका विभिन्न ठाउँबाट सोझै दिल्लीसम्म बस सेवा सुरु भएको हो । अहिले वनबसादेखि गड्डाचौकीसम्म भारतीय नम्बरका साना सवारी साधनहरू चल्न थालेका छन् । वरिष्ठ अध्यागमन सहायक जोशीले वनबसा पुल खुल्ने समय ४ घण्टाबाट ८ घण्टा पुर्‍याइएको बताए । उनका अनुसार गत जनवरीदेखि सरकारले चिनियाँ पर्यटकहरूलाई डेढ सय दिनसम्म नि:शुल्क प्रवेश दिने घोषणा गरेपछि यो नाकाबाट भित्रिने पर्यटकको संख्या बढेको हो ।

अध्यागमन कार्यालयका अनुसार यहाँको नाकाबाट भित्रिने पर्यटकमध्ये अधिकांश चिनियाँ नै छन् । पछिल्ला ७ महिनामा यो नाकाबाट भित्रिएका डेढ हजारमध्ये एक तिहाइ पर्यटक चिनियाँ रहेका छन् । अन्यमा अमेरिका, बेलायत, इजरायल, बेल्जियमलगायत युरोपियन मुलुकका पर्यटक छन् । भारतको उत्तराखण्ड र हिमाञ्चलका धार्मिक तथा पर्यटकीय स्थलहरू घुमेर आउने पर्यटकहरू यस नाकाबाट भित्रिने गर्छन् ।

शुक्लाफाँटा घुम्ने पर्यटक दोब्बर
शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्ने पर्यटकहरूको संख्या दोब्बर पुगेको छ । प्रचार प्रसारसँगै पर्यटन व्यवसायी र अन्य निजी क्षेत्रको पहलले पर्यटकको संख्या वृद्धि भएको आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । ‘गत आवमा १९ सय बढी पर्यटकले शुक्लाफाँटा घुमेका छन्,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘यो संख्या अघिल्लो आवको तुलनामा दोब्बरभन्दा बढी हो, अघिल्लो वर्ष ८ सय मात्रै आरक्षभित्र पसेका थिए ।’ उनका अनुसार शुक्लाफाँटा घुम्नेमा ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक छन् । ‘पर्यटकसँगै राजस्व पनि बढेको छ, गत आवमा ९४ लाख राजस्व संकलन भएको छ,’ उनले भने ।

गत वर्षदेखि यहाँको मोहित ट्राभल्स एन्ड टुर्सले शुक्लाफाँटा घुम्ने पर्यटकका लागि टुर प्याकेज सुरु गरेको छ । मध्यवर्ती क्षेत्रमा राना थारू होमस्टेसँगै आरक्ष प्रवेशद्वार नजिकै होटल सञ्चालनमा आउनुले पनि पर्यटकलाई सहज भएको स्थानीय बताउँछन् । आगामी वर्ष थप पर्यटक बढ्ने संकेत रहेको ढकालले बताए ।

THIS IS ADD AREA
x

Check Also

चितवन-काठमाडौं रुटमा अत्याधुनिक बस सेवा

चितवन-काठमाडौं रुटमा पहिलोपटक यूरो-४ मापदण्डका बसहरु सञ्चालन हुन थालेका छन् । विशेषगरी चितवन घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी शारदा टुर्स प्रालिले बुधबारदेखि अत्याधुनिक सुविधायुक्त सुपर ...

Social Media Auto Publish Powered By : XYZScripts.com