ढाड सेक्दै प्याजको मूल्य, केही दिनमा राहत हुने प्याजबिनै दसैंका दिन घर्कँदै

एमटिभी डेस्क
काठमाडौं । राजधानी काठमाडौंलगायत देशभरि नै प्याजको मूल्य आकासिएको छ । भारतीय बजारमा भएको मूल्यवृद्धिसँगै नेपाली बजारमा प्याजको भाउ उच्चतम अंकमा पुगेको हो ।

प्याजमा मूल्यमा भएको बढोत्तरीको प्रभाव भारतीय सीमासँग जोडिएका नेपाली बजारमा पनि देखिएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसँगै आसपासका बजारमा प्याजको मूल्य प्रतिकिलो एक सय पचास रुपैयाँ पुगेको छ । ‘एक महिनायता प्याजको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ,’ जलेश्वर नगरपालिकाका प्रमुख शंकर शाहीले भने,‘भारतीय बजारमा प्याजको मूल्य स्थिर भएर ह्रासोन्मुख नहुँदासम्म यो स्थिति कायम रहन्छ ।’

नेपालमा खपत हुने प्याजको ठूलो परिमाण भारतका विभिन्न सहरबाट आयात हुनेगर्छ । प्याज उत्पादनको दृष्टिले भारत विश्वकै दोस्रो स्थानमा पर्छ । नेपालका लागि प्रमुख निर्यातक देश भारतमै उत्पादनमा कमी आएकाले प्याजमा भारतनिर्भर नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंकालगायतका देशमा यसको मूल्यवृद्धि भएको हो ।

भारतमा उत्पादित प्याज अन्य देशका उत्पादनको तुलनामा लामो समयसम्म सुरक्षित रहने र नियमित आयात भइरहँदा प्रतिकूल समयमा पनि अपुग नहुने भनिए पनि प्रत्येक वर्ष नोभेम्बरदेखि अक्टोबरसम्म नेपालमा प्याजको मूल्यवृद्धि हुनेगर्छ । ‘केही समययता नेपाली बजारमा प्याजको मूल्य एक दशककै सबैभन्दा बढी हो,’ प्रदेशसभा सदस्य मनिष सुमनको बुझाइ छ,‘भारतमा मूल्यवृद्धि हुने सिजनअघि नेपालमा आवश्यक परिमाणमा प्याज भित्रिएन कि त आयात भइसकेको प्याज बजारसम्म आउँदा अहिले भारतीय बजारमा कायम मूल्यसरह बिक्रीवितरण भइरहेको छ ।’

सांसद सुमनका अनुसार प्याजको बजार व्यवस्थापन गर्न नसक्नु सरकारी विफलता हो । निर्यातक देश भारतमा प्याजको मूल्य उच्च हुने मौसमअघि पर्याप्त मात्रामा प्याज आयात गरेर साबिक मूल्यमा बिक्री गराउने दायित्वबाट सरकार हरेक वर्ष चुक्दै आएको दाबी सुमनको छ ।

नेपालका व्यापारीहरूले पनि पहिलेकै स्टकबाट अहिले नेपाली बजारमा प्याज आपूर्ति भइरहेको केही साताअघि जनाएका थिए । तर, आयात भएका बेलामा बजारमूल्यभन्दा लगभग सतप्रतिसत मूल्यमा प्याज बिक्रीवितरण भइरहेकाले यसको मूल्यवृद्धिलाई अस्वाभाविक मानिएको छ । ‘अहिले भारतीय बजारबाट प्याजको आयात न्यून छ । नेपाली बजारमा प्याजको अभाव छैन । मूल्यमात्र आकासिएको छ,’ जनकपुरधामका होटल व्यवसायी गोविन्द चौधरीले भने,‘यसको सीधा अर्थ छ कि नेपाली बजारमा कार्टेलिंग र कालोबजारी भइरहेको छ ।’

प्याज उत्पादक देश भारतमा केही समय अघि सुखा पर्नु, ढिलागरी मनसुन आउनु र केही दिनयता भारी बर्खा हुनुका कारणले पनि प्याजको मोल बढेको हो । भारतमा नोभेम्बर र जनवरीपछि दुई सिजनमा प्याज उत्पादन हुन्छ । प्रतिकूल मौसम अर्थात् अतिवृष्टिका कारण नोभेम्बरमा उत्पादन भएर बजारमा पुग्न ढिलाइ भएकाले प्याजको मूल्य बढेको भारतीय बजार विश्लेषकहरूले जनाएका छन् ।

प्याजको मूल्यवृद्धि हुँदा किसान मारमा पर्ने र स्टक गरेर मागअनुसार आपूर्ति नगर्ने बिचौलिया व्यापारीहरूले नाफा कमाउने गरेको उनीहरूको भनाइ छ ।
भारतीय बजारमा अबका केही दिनमा उत्पादन पुग्ने भएको हुँदा प्याजको मूल्यमा कमी आउने पनि बताइन्छ । अप्रिल र मे महिनामा भने प्याजको मूल्यमा प्रत्येक वर्ष धेरै गिरावट हुनेगर्छ ।

जानकारका अनुसार भारतीय बजारबाट आयात हुने प्याज अप्रिल र मे तथा नाभेम्बरपछिका समयमा आयात गरेर भण्डारण गर्ने र मागअनुसार आपूर्ति गर्ने व्यवस्था सरकारले गरे नेपालमा प्याजको मूल्य वर्षभरि स्थिर राख्न सकिने छ ।

THIS IS ADD AREA
x

Check Also

विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयको ६४औँ वार्षिक उत्सव

चन्दा्रगिरी नगरपालिकाको नमुना विद्यालय विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालय सतुङगलको ६४आँै वार्षिक उत्सवको उपलक्षयमा संञ्चालीत कार्यक्रम नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यका सञ्चालित तथा सम्पन्न ...

Social Media Auto Publish Powered By : XYZScripts.com